काठमाडौं– आफ्नो सट्टामा नक्कली परीक्षार्थी राखेर एसईई दिलाउने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
शुक्रबार रौतहट जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ।
गत आइतबार मेयर साहको सट्टा परीक्षा दिइरहेको अवस्थामा परीक्षा अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साहलाई पक्राउ गरेको थियो।
साह रेडियो नेपालको बर्दिवास शाखामा पाँचौं तहमा कार्यरत स्थायी कर्मचारी भएको बुझिएको छ। साहले मेयर साहले परीक्षा दिनका लागि अनुरोध गरेको कुरा प्रहरीसँग बयान दिएका थिए। परीक्षा दिने कमल मेयरका ज्वाइँ हुन्।
शिक्षा ऐन २०२८ अनुसार नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुवैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मेयर साह गत स्थानीय निर्वाचन नेकपा एमालेबाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।