ओन्टारियो– क्यानडाको ओन्टारियोमा अवस्थित हिन्दु मन्दिरमा तोडफोड भएको छ। ओन्टारियोको विन्सडर शहरमा रहेको स्वामीनारायण मन्दिरमा बुधबार राति १२ बजे तोडफोड भएको हो।
प्रहरीले घटनाको सीसीटिभी फुटेज प्राप्त गरेको छ। घटनामा २ आरोपीले मन्दिरको पर्खालमा केही नारा लेखेका थिए। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हिन्दुहरूको विषयमा आपत्तिजनक नारा लेखिएको थियो।
विन्सडर प्रहरीले दुवै आरोपीको खोजी सुरु गरेको छ। प्रहरीले आफ्नो ट्वीटर अकाउन्टमा सीसीटिभी फुटेज जारी गर्दै आरोपीको विषयमा ‘वान्डेट’ लेखेको छ। क्यानडामा गत जुलाईदेखि ५ पल्ट यस्तो घटना भइसकेको छ।
मन्दिरमा कार्यरत हर्षल पटेलले भनेका छन्, ‘हामी मन्दिरको पर्खालमा लेखिएको नारा देखेर चकित पर्यौं। २० वर्षपछि यस्तो घटना यहाँ भएको हो। हामीले तुरुन्त स्थानीय प्रहरीलाई यसको सूचना दिएका थियौं।’
घटनापछि शहरमा हिन्दुवादी संगठनले आपत्ति र विरोध जनाएका छन्। गत २७ मार्चमा क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको साइमन फ्रेजर विश्वविद्यालयमा महात्मा गान्धीको मूर्ति तोडफोड भएको थियो। २३ मार्चमा ओन्टोरियोको हेमिल्टन शहरको सिटी हलमा पनि महात्मा गान्धीको मूर्ति यसरी नै तोडफोड भएको थियो।
खालिस्तान समर्थकहरूले स्प्रे पेन्ट गरेर भारत र प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध नारा लेखेका थिए। ३० जनवरीमा क्यानडाको मिसिसाँगा शहरमा राम मन्दिरमा तोडफोड भएको थियो। खालिस्तानी समर्थकले मन्दिरको पर्खालमा भारत विरोधी नारा लेखेका थिए। हिन्दु हेरिटेज सेन्टरमा २ व्यक्तिले दान पेटी र मुख्य कार्यालयमा तोडफोड गरेका थिए।
२५ जनवरीमा पनि ब्रेम्पटन शहरमा गौरी शंकर मन्दिरमा तोडफोड भएको थियो। १५ जनवरीमा पनि यही शहरको हनुमान मन्दिरमा तोडफोड भएको थियो। गत नोभेम्बरमा पनि ब्रेम्पटन शहरमा रहेको हिन्दु सभा मन्दिर र जगन्नाथ मन्दिरमा तोडफोड भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।