न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परम्परागत सञ्चारमाध्यमबीच विवाद चर्किएका बेला ह्वाइट हाउसले आफ्नै २४ घण्टे स्ट्रिमिङ च्यानल ‘ट्रम्प टीभी : द एसेन्सियल स्टेसन’ सुरु गरेको छ। यो च्यानल ह्वाइट हाउसको युट्युब अकाउन्ट, वेबसाइट र आधिकारिक एपमार्फत हेर्न सकिन्छ।
च्यानलमा ट्रम्पका भाषण, प्रशासनका निर्णय, सार्वजनिक कार्यक्रम तथा विगतका महत्वपूर्ण भिडिओ पुनःप्रसारण भइरहेका छन्। आवश्यकताअनुसार ह्वाइट हाउसका प्रत्यक्ष कार्यक्रम पनि यसमा देखाइन्छ। तर हालसम्म यसमा नियमित समाचार एंकर, समाचार बुलेटिन वा सामान्य टेलिभिजन नेटवर्कजस्तो कार्यक्रम संरचना देखिएको छैन।
ट्रम्प टीभी सुरु हुनुको समय पनि महत्वपूर्ण छ। ह्वाइट हाउसले केही सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाएपछि प्रमुख अमेरिकी टेलिभिजन नेटवर्कहरूको प्रेस पूलसम्बन्धी विवाद उत्कर्षमा पुगेको थियो। त्यहीबीच ह्वाइट हाउसले राष्ट्रपतिको गतिविधि आफ्नै प्लेटफर्मबाट प्रत्यक्ष दर्शकसम्म पुर्याउने नयाँ माध्यमका रूपमा ट्रम्प टीभी अघि सारेको हो।
६ प्रश्नमा बुझ्नुहो् ट्रम्प टीभी
१. ट्रम्प टीभी वास्तवमा के हो?
यो ह्वाइट हाउसले सञ्चालन गरेको २४ घण्टा चल्ने अनलाइन भिडियो स्ट्रिम हो। यसको आधिकारिक नाम ‘Trump TV: The Essential Station’ हो। हाल यसको स्वरूप परम्परागत समाचार च्यानलभन्दा राष्ट्रपतिको भाषण तथा प्रशासनका गतिविधिको निरन्तर भिडियो फिडजस्तो देखिन्छ।
२. कहाँबाट हेर्न सकिन्छ?
ट्रम्प टीभी ह्वाइट हाउसको युट्युब अकाउन्ट, WhiteHouse.gov वेबसाइट र आधिकारिक ह्वाइट हाउस एपबाट हेर्न सकिन्छ।
३. यसमा के–के देखाइन्छ?
ट्रम्पका पुराना भाषण, कार्यकारी निर्णयसँग सम्बन्धित भिडिओ, प्रशासनका कार्यक्रम र केही प्रत्यक्ष कार्यक्रम प्रसारण हुन्छन्। सुरुवाती प्रसारणमा माउन्ट रशमोरमा ट्रम्पले गरेको भाषण तथा उनको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहका दृश्य देखाइएको थियो।
४. के यो सामान्य समाचार च्यानल हो?
अहिलेको स्वरूप हेर्दा होइन। यसमा नियमित समाचार एंकर, समाचार शीर्षक वा परम्परागत समाचार बुलेटिन छैन। त्यसैले यसलाई हालका लागि समाचार नेटवर्कभन्दा ह्वाइट हाउसबाट तयार हुने २४ घण्टे भिडियो स्ट्रिमका रूपमा बुझ्न सकिन्छ।
५. ह्वाइट हाउसले किन सुरु गर्यो?
ह्वाइट हाउसका अनुसार परम्परागत मिडियाले उचित रूपमा कभर नगरेका ट्रम्प प्रशासनका महत्वपूर्ण गतिविधि आफ्नै माध्यमबाट दर्शकसम्म पुर्याउनु यसको उद्देश्य हो। यो च्यानल सुरु भएको समय भने ट्रम्प प्रशासन र केही प्रमुख सञ्चारमाध्यमबीच प्रेस पहुँचलाई लिएर विवाद चर्किएको समयसँग जोडिएको छ।
६. ट्रम्प टीभी र ट्रुथ+ एउटै हो?
होइन। ट्रम्प टीभी ह्वाइट हाउसको आधिकारिक स्ट्रिमिङ माध्यम हो भने ट्रुथ+ ट्रम्पसँग जोडिएको व्यावसायिक स्ट्रिमिङ सेवा हो। ट्रुथ+ मा समाचार र मनोरञ्जनका अन्य नेटवर्कका सामग्रीसमेत उपलब्ध हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।