काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेट गरेका छन्।
बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको हो। कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री महत र राजदूत थम्पसनबीच छलफल भएको बताइएको छ।
मिलेनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएड)मार्फत् अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको छ। त्यसैगरी, नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा महतले जानकारी दिए।
‘आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो। त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ’, मन्त्री महतले भने।
नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको मन्त्री महतले बताए। उनले अमेरिकी सरकारको अनुदान सहयोगका लागि राजदूत थमसनलाई धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।