काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको रिटमा सुनुवाइ जारी छ। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा सुनुवाइ चलिरहेको छ। आठौं नम्बरमा पेसी रहेको मुद्दामा रिट निवेदकहरुले बहस गरिरहेका छन्।
युवराज सफलले लामिछानमाथि मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले राहदानी कीर्तेमा लामिछानेमाथि मुद्दा नचल्ने निर्णय गरेका थिए। महान्यायाधीवक्ताले नागरिकता लिएको तर राहदानी लिएर दुरुपयोग गरेको र अरुलाई हानि पुर्याएको नदेखिएकाले मुद्दा दायर नगर्ने निर्णय गरेका थिए।
उनको यो निर्णयले फौजदारी अभियोगमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर गर्दै पुन: अनुसन्धान गरी मुद्दा दायर गर्न रिटमा माग गरिएको छ। प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय हुँदै आएको टिप्पणीमा महान्यायाधिवक्ता पोखरेलले यस्तो निर्णय गरेका थिए।
सर्वोच्च अदालतले बहसपछि आजै निर्णय सुनाउने छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा भने लामिछाने समस्यामा पर्नेछन्। वैशाख १० गते हुने उपनिर्वाचनमा उनी चितवन- २ बाट उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।