फाइल तस्बिर।
काठमाडौं– राष्ट्रिय सभाकी सांसद मदनकुमारी साह (गरिमा)ले तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।
मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन्।
बहरान सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा सन्दुक रुईतप्रति बधाई ज्ञापन गर्दै उनले विश्वमा आफ्नो योग्यता र सेवाबाट नेपाललाई चिनाएको उल्लेख गर्दै सो कार्य सबै नेपालीका लागि गर्वको विषय भएको बताइन्।
‘बहराइन सरकारको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनु भएको डा सन्दुक रुइतलाई हार्दिक बधाई ज्ञापन गर्दछु। विश्वमान चित्रमा नेपाललाई योग्यता र सेवाभावबाट चिनाउनु भएकोमा डा रुइतमाथि हामी गर्व गर्दछौं’, उनले भनिन्, ‘आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन आर्थिक वर्ष २०८०/८१ मा समावेश गर्न सरकारसँग जोडदार माग गर्दछु।’
सांसद शाले नेत्र विशेष डा रुइतले नेपालमा लेन्स उत्पादन उद्योग खोलेर विश्वमै मानवीय सेवाका लागि उदाहरणीय काम गरेको पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।