काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशकसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
त्यस्तै अख्तियारले नमुना समाज, सुर्खेतलाई पनि प्रतिवादी बनाएको छ। उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ।
मुद्दा दायर भएकामध्ये पञ्चपुरीका तत्कालीन नगरप्रमुख थापा हाल कर्णाली प्रदेश कांग्रेस सहमहामन्त्रीसमेत हुन्। अख्तियारले भेरीगंगा नगरपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाको कृषि र पशु शाखाबाट सम्पादन हुँदै आएका कामहरुको डुप्लिकेसन गरी भ्रष्टाचार गरेको आरोपपत्रमा दाबी गरेको छ।
नमुना समाज, सुर्खेतले पञ्चपुरी नगरपालिकासमेतबाट प्राप्त रकम आफ्नो लगानीको कुनै स्रोत नदेखाई तथा कामै नगरी भुक्तानी लिएको देखिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गर्दै रकम भुक्तानी गरेको थियो। उक्त भुक्तानी गर्दा भ्रष्टाचारजन्य कार्य हुन गएको र उक्त कार्यमा संलग्नहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार विगो,जरिवाना र कैदको सजाय माग गरिएको छ।
अख्तियारले पञ्चपुरीको पूर्व नगरप्रमुखसँग ५० लाख बिगो, जरिवाना र कैद सजाय माग गरेको छ। पञ्चपुरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीसँग ३० लाख बिगो जरिवाना र कैदको सजाय माग गरेको छ।
त्यस्तै पञ्चपुरी नगरपालिका सुर्खेतका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटासँग २० लाख, पञ्चपुरी नगरपालिका लेखा अधिकृत मोहन बहादुरबुढासँग ५० लाख, पञ्चपुरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सुर्खेतका लेखापाल लक्ष्मीप्रसाद अधिकारीसँग २० लाख बिगो अख्तियारले दाबी गरेको छ।
त्यस्तै अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद तथा जरिवाना पनि गर्न माग गरेको छ। त्यसैगरी नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जीएम भन्ने लालबहादुर घर्ती मगर, नमुना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा ५० लाख बिगो दाबी अख्तियारले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।