प्रतिकात्मक (फाइल) तस्बिर: रोयटर्स/गेट्टी ईमेज
काठमाडौं– फिनल्याण्ड मंगलबार नाटो (नर्थ अटलान्टिक ट्रिटी अर्गनाइजेसन) को सदस्य बन्दैछ। युरोपको यो सानो देश ३१औं सदस्यको रूपमा अमेरिकी सैन्य समूहमा समावेश हुन लागेको हो।
नाटोका सचिव जर्नेल जेन्सस्टोलनबर्गले सोमबार यसको जानकारी दिएका थिए। नाटोको हेडक्वार्टर ब्रसेल्समा छ। मंगलबार ब्रसेल्समा एउटा विशेष कार्यक्रमका बीच फिनल्याण्डले संगठनको सदस्य लिने प्रक्रियालाई पूरा गर्नेछ।
नाटोमा छिटै स्विडेन पनि समावेश हुने सम्भावना छ। स्टोलनबर्गले यसको जानकारी दिँदै भने, ‘फिनल्याण्ड नाटो परिवारको नयाँ सदस्य बन्दै छ। हामी आशावादी छौं, स्विडेन पनि छिटै हाम्रो अंग बन्ने छ।’
स्टोलनबर्ग नर्वेका पूर्वप्रधानमन्त्री पनि हुन्। उनले भने, ‘नाटो हेडक्वार्टरमा पहिलोपटक फिनल्याण्डको झण्डा फहरिने छ। उसको सुरक्षाको जिम्मा अब नाटो देशको हुनेछ।’
समारोहमा भाग लिन फिनल्याण्डका राष्ट्रपति साउली निनीस्तो र रक्षामन्त्री एन्तती काइकोनेन ब्रसेल्स पुगिसकेका छन्।नाटोमा समावेश हुने फिनल्याण्डको निर्णयप्रति रुसले विरोध जनाएको छ।
उपप्रधानमन्त्री एलेक्जेन्डर ग्रुस्कोले भनेका छन्, ‘नाटोको सबै क्रियाकलापप्रति हाम्रो नजर छ। हामी पनि आफ्नो सुरक्षा कवजलाई विस्तार गर्दै लैजाने छौं।’
दुई दिनअघि मात्र पूर्वप्रधानमन्त्री सन्ना मरिनले चुनाव हारेकी थिइन।
फिनल्याण्ड र स्विडेन नाटोमा समावेश हुने खबरले टर्की र हंगेरी सशंकित छन्। स्विडेनलाई नाटोमा समावेश गराउने विषयमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्किनले टर्कीका विदेशमन्त्रीसँग कुराकानी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।