दिल्ली– चीनले अरुणाचल प्रदेशको सीमा नजिकै ११ वटा स्थानको नाम परिवर्तन गरेको भारतीय पक्षले दाबी गरेको छ। चीनले विगत ५ वर्षको अवधिमा तेस्रोपटक सीमासँग जोडिएको स्थानको नाम परिवर्तन गरेको भारतीय अखबारले जनाएका छन्।
यसअघि उसले २०२१ मा १५ ठाउँ र २०१७ मा ६ ठाउँको नाम परिवर्तन गरेको थियो। चीनले अहिलेसम्म अरुणाचल प्रदेशलाई भारतीय राज्यको मान्यता दिएको छैन। उसले अरुणाचललाई दक्षिण तिब्बतको भूभाग मान्दै आएको छ। उसले आरोप लगाउँदै आएको छ कि, भारतले तिब्बतको भू–भाग हत्याएर अरुणाचल प्रदेश स्थापना गरेको हो।
चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले सोमबार जनाएअनुसार चीनको सामाजिक न्याय मन्त्रालयले ११ नाम परिवर्तन गर्न स्वीकृति प्रदान गरेको छ।
नाम परिवर्तन भएका सबै क्षेत्र जेङ्नेन (चीनको दक्षिण राज्य सिजियाङ प्रान्त) मा पर्छ। यी क्षेत्रमध्ये ४ ठाउँमा बस्ती छ। एउटा भूभाग त अरुणाचल प्रदेशको राजधानी इटानगरसँगै जोडिएको छ। अन्यमा ५ वटा पहाडी क्षेत्र र दुई वटा नदी भएको क्षेत्र पर्छ। चीनले यी क्षेत्रलाई मन्दारिन र तिब्बती भाषामा रुपान्तरण गरेको छ।
भारतीय विदेश मन्त्रालयले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।