काठमाडौं– चलचित्र ‘प्रसाद–२’ का निर्माता सुवास थापाले आफूले समयमै तिर्नुपर्ने रकम तिर्न नसकेकाले रिलिजसम्म पर्खन आग्रह गरेका छन्।
रिलिजजपश्चात् सबै रकम तिरेर मात्र आफ्नो भागको रकम लिने प्रतिवद्ता थापाले सामाजिक सञ्जालमार्फत् गरेका हुन्।
फिल्म २४ चैत्रबाट हलहरूमा प्रदर्शन हुँदैछ। उनले फेसबुकमा आफ्नो चलचित्र बनाउने हुटहुटी र जानी नजानी गरेका गल्तीका कारण अवरोध आइरहेको भन्दै लेखेका छन्, ‘माघमै चलचित्र रिलिज गर्ने तयारीको कारण मैले तिर्नुपर्ने रकम माघपछिको भाखामा तिर्ने बचनबद्धता प्रकट गरेँ। तर समयमा रिलिज हुन नसक्दा मेरो बचनबद्धतामा म चुकेँ। तथापि अब रिलिजको सम्पुर्ण तयारीमा रहेको हुदा चलचित्र प्रदर्शनमा सहयोगको लागि सबैमा आग्रह गर्दछु।’
उनले बचन पूरा गर्न नसक्नुको कारण खराब नियत नभएको बताए।
‘चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नु पर्नेलाई तिरी मात्र म आफ्नो भागको रकम लिनेछु। हलबाट आउने रकम सबै चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीँबाट तिर्नुपर्नेलाई दिई बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ,’ उनले लेखेका छन्।चलचित्रमा आफ्नो धेरै मेहेनत भएका कारण चलचित्र रिलिजको वातावरण बनाइदिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।