काठमाडौँ– चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ।
मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक समावेशिता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो।
प्रतियोगिताबारे बोर्डले केही दिनअगाडि सार्वजनिक सूचना समेत निकालेको थियो। प्रतियोगितामा सहभागी हुन बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरि आगामी वैशाख १० गतेसम्ममा दरखास्त सहित चलचित्र बोर्डको कार्यालयमा इमेल गर्न आह्वान गरिएको छ।
उपलब्ध भएका चलचित्रमध्ये उत्कृष्ट तीनले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी रु.१ लाख ५० हजार, १ लाख र ७५ हजार प्राप्त गर्नेछन्।
पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, विशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ।
प्रतियोगितामा सहभागी चलचित्रहरू कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता चलचित्रकर्मीहरू नेपाली भएको हुनुपर्नेछ।
पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले प्रतियोगितामा भाग लिन पाउनेछन्। ती चलचित्रले विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।