काठमाडौं– पछिल्लो साता निरन्तर ओरोलो लागेको सेयर बजारले नयाँ अर्थमन्त्रीलाई पनि ‘पत्याएन’। नेपाली कांग्रेसका डा प्रकाशशरण महतले शुक्रबार अर्थ मन्त्रालयको जिम्मेवारी लिएपछि पहिलो कारोबार दिन आइतबार सेयर बजारमा २० अंकले गिरावाट आएको छ। उक्त अंकको गिरावाटले नेप्से १८८८.५५ विन्दुमा आइपुगेको छ।
अर्थ मन्त्रालयको नेतृत्वमा हुने फेरबदलले सेयर बजारमा प्रत्यक्ष प्रभाव देखिने विगतको तथ्यांकलाई हेर्दा नयाँ अर्थमन्त्रीमाथि खासै विश्वास नभएको देखिएको छ।
यसअघि पुस १० मा अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको आगमनले सेयर बजारमा उछाल ल्याएको थियो। त्यसपछि पनि बजारमा सकारात्मक अवस्थाहरु देखा परेका थिए।
पुस ११ गते पौडेल अर्थमन्त्री भएका दिन मात्र सेयर बजारमा ५७ अंकले उछाल आएको थियो। त्यस्तै, पुस १२ गते पनि सेयर बजारमा ६० अंक वृद्धि हुँदै ठूलो अंकको उछाल आएको थियो। तर ‘पुँजीवादी’ व्यवस्थाका मुख्य पक्षधर डा महत अर्थमन्त्री हुँदा भने सेयर लगानीकर्ताहरू विश्वस्त हुन सकेनन्।
साताको पहिलो दिन, आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको कारोबार भएको छ। गत बिहीबारको तुलनामा सेयर कारोबार रकम भने बढेको छ।
आइतबार नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
आइतबार नेप्से परिसूचकमा गिरावट आएपनि कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। तर, स्वाभिमान लघुवित्तको सेयरमूल्य ९.६१ प्रतिशत घटेको छ। आइतबार एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।