बेङ्ग्लोर– दक्षिण भारतीय सिनेमाकी नायिका सामन्था रुथ यतिबेला आफ्नो सार्वजनिक हुन लागेको फिल्म साकुन्तलमको प्रमोशनमा व्यस्त छिन्। यसै क्रममा उनले अन्तर्वार्ता दिँदै भनेकी छिन्, पुष्पा फिल्ममा उनलाई आइटम डान्स ‘ओ अन्टवा’ मा काम नगर्न सबैले सुझाव दिएका थिए। त्यतिबेला उनको सम्बन्धविच्छेदको मुद्धा अदालतमा दायर थियो।
सामान्थाले भनिन्, ‘जतिबेला मलाई ‘ओ अन्टवा’ को प्रस्ताव आयो, मेरो सम्बन्धविच्छेद हुँदै थियो। त्यसैले सबैले मलाई आइटम गीत नगर्न सुझाव दिएका थिए। मेरा नजिकका साथी, जसले मेरो करिअर अगाडि बढाउन सहयोग गरेका थिए, उनीहरूको पनि यस्तै मान्यता थियो। उनीहरूले पनि पछाडि हट्न भनेका थिए।’
यद्यपि यो आइटम गीत रिलिजपछि सुपरहिट भएको थियो। सामन्थाले भनिन्, ‘मलाई लाग्यो, मैले कुनै अपराध गरेको छैन, किन लुकेर बस्ने? त्यसैले अरुको सुझाव विपरीत गीतमा काम गरेँ।’
उनले वैवाहिक सम्बन्धलाई जोगाउन आफू सतप्रतिशत इमान्दार भएको पनि बताइन्। ‘तर, त्यो चलेन। यसमा मेरो कुनै गल्ती छैन। मैले आफूलाई दोषी ठानेको छैन, पश्चाताप पनि छैन।’
उनले फिल्ममा काम गर्दा अल्लु अर्जुनले निकै सहयोग गरेको बताइन्। ‘मलाई गीतको अन्तरा खुब मन परेको थियो। मैले यसअघि आइटम गीत गरेको थिइनँ। म सधैं भिन्दाभिन्दै अभिनय गर्न रुचाउँछु। त्यसैले मैले यसलाई आइटम गीतको रूपमा हेरिन्। मेरो लागि यो अर्को भूमिका थियो,’ उनले भनिन्।
सामन्थाको सन् २०१७ मा नागा चैतन्यसँग विवाह भएको थियो। विवाहको ४ वर्षपछि सन् २०२१ को अक्टुबरमा सम्बन्धविच्छेद भयो। विवाहअघि यो जोडीले तीन वर्ष डेट गरेका थिए। दुवैले ‘मनम’, ‘ये माया चेसावे’ र ‘अटोनगर सूर्या’ जस्ता फिल्ममा काम गरेका थिए।
सामन्थासँग सम्बन्धविच्छेद भएपछि नागा चैतन्यको सम्बन्ध अभिनेत्री सोभिता धुलिपालसँग जोडिएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।