काभ्रे- पनौती नगरपालिका-२, कुशादेवीको तोरीखोरियास्थित रातोपहरामा साहसिक खेल ‘रक क्लाइम्बिङ’ सुरु गरिएको छ। संघीय राजधानी काठमाडौंबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ ९ किलोमिटर दूरीमा व्यावसायिक रुपमा सुरु गरिएको उक्त रक क्लाइम्बिङले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले मंगलबार रक क्लाइम्बिङको शुभारम्भ गरेका हुन्। उनले पनौती सांस्कृतिक, धार्मिक तथा पर्यटकीय हिसाबले आकर्षक बन्दै गएको अवस्थामा कुशादेवी क्षेत्रमा थपिएका साहसिक खेल गन्तव्यले खुसीयाली थपिएको बताए।
एक पटकमा आठ जना ‘क्लाइम्बर’ चढ्न सकिने गरी रातो पहरामा रक क्लाइम्बिङ निर्माण गरिएको नेपाल पर्वतारोहण प्रशिक्षक संघका प्रशिक्षक पेम्बा ओङ्छु शेर्पाले जानकारी दिए। उनका अनुसार साहसिक खेलमा रुचि राख्नेले उक्त क्षेत्रमा पुगी रक क्लाइम्बिङ गर्न सक्नेछन्।
जर्मनीबाट ल्याइएका एक हजार ‘बोल्ड’ किला रक क्लाइम्बिङका लागि पहराका भित्तामा गाडिएका छन्। जसको सहारामा डोरीको माध्यमबाट ५० मिटरभन्दा धेरै रक क्लाइमिङ गर्न सकिन्छ।
पनौती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले नगरबाट विनियोजित १० लाख रुपैयाँबाट हाल रक क्लाइम्बिङ पुग्ने स्थानसम्मको पदमार्ग तथा पूर्वाधार तयार गरिएको बताए। उनका अनुसार यसमा ‘बेस वाल’ निर्माण लगायतका पूर्वाधार निर्माण गर्न बाँकी छ।
साथै वडा कार्यालयले रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, डाउनहिल साइक्लिङका साथै चरा संरक्षण गरी चराका आवाज सुन्ने र त्यसबाट प्राकृतिक मनोरञ्जन लिन सकिने गरी थप नयाँ गन्तव्यको प्रक्रिया सुरु गरेको छ। फुल्चोकी क्षेत्रलाई साहसिक खेल-पर्यटनका रूपमा विकास गर्न आफूहरू नगरको योजनामा समावेश गरी लागेको अधिकारीले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई कुशादेवी-फुल्चोकी क्षेत्रमा प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) सञ्चालनको अनुमति दिएपछि गत फागुनमा परीक्षण गरी उडान थालिएको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।