ढाका- म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी रहेको छ। यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ। म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन्।
सो क्रममा सोमबार मात्र पनि कम्तीमा १२ जना रोहिंग्याको ज्यान गएको छ। सोही नदी तरेर पार गर्ने क्रममा नै उनीहरुको मृत्यु भएको हो। प्रहरीले सोमबार बिहान बंगालको खाडीनजिकै नाफ नदी छेउमा शवहरु तैरिएर रहेको अवस्थामा भेटेको जनाएको छ।
बंगलादेशको प्रहरीले यहाँको कोक्स बजार जिल्लामा पर्ने नाफ नदी तटमा १० जना बालबालिकासहित एक महिला र अर्का एक पुरुष गरी १२ जनाको शव भेटिएको जनाएको छ। सो नदी किनारमा रहेको शिविरमा महिना दिनभन्दा लामो समयदेखि करिब पाँच लाख शरणार्थी बस्दै आएका छन्।
गएको अगष्ट २५ देखि रोहिंग्या बाहुल्य म्यानमारको राखिन राज्यबाट भागेर उनीहरु त्यहाँ पुगेका हुन्। त्यस समयदेखि आजसम्ममा ती समुदायका एक सयभन्दा बढीको ज्यान गएको अधिकारीले जनाएका छन्।
उनीहरु आन्तरिक रुपमा विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधोपचारसमेत उपलब्ध नरहेको पाइएको छ। उनीहरुको अवस्था देशभित्र तथा बंगलादेशमा समेत दयनीय रहेको समाचार आइरहेका छन्।रासस/सिन्ह्वा/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।