काठमाडौं– मनाङ मर्स्याङ्दी क्लब धनगढीमा जारी छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज धनगढीमा भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो। मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे। यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए।
खेलको ३७औं मिनेटमा तिमोथेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए। बागमतीले खेलको ४१औं मिनेटमा बराबरी गोल फर्कायो। बागमतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्यो। मनाङका लागि खेलको ६६औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए।
जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ। अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।
सर्वाधिक धनराशिको प्रतियोगिताका विजेताले २१ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन्। सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो। प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन छ, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।