धनगढी– थ्री स्टार क्लब धनगढीमा जारी छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो। थ्री स्टारका लागि खेलको ५९औं मिनेटमा दीपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन्।
खेलको एसपिए ‘म्यान अफ दी म्याच’ दीपेश गुरुङ घोषित भएका छन्। जितसँगै थ्री स्टारले सोझै सेमिफाइनलमा स्थान बनाएको छ। थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिताअन्तर्गत सोमबार मनाङ मस्र्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रदेशको सर्वाधिक धनराशिको प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख प्राप्त गर्नेछन्।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो। प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन छ, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।