सुन्दरहैचा– सातौं संस्करणको विराट गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ‘सडेनडेथ’मा हराउँदै जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ‘सडेनडेथ’मा ६–५ गोलले पन्छाउँदै जावलाखेल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो ‘सडेनडेथ’बाट भएको थियो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए।
सडेनडेथमा जावलाखेलको तर्फबाट सिमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरेका थिए। आर्मीको तर्फबाट टङ्क बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पीजङ्ग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए। सेसेहाङ आङदङबेको प्रहार बाहिरिँदा दोस्रो खेलबाट आर्मी बिदा भएर घर फर्किन बाध्य भयो।
जितसँगै जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ। आर्मी र जाउलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो। आर्मीले गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै आफ्नो प्रतिस्पर्धा बिट मार्न पुग्यो।
खेलको म्यान अफ द म्याच जावलाखेलका सिमान्त थापा घोषित भए। उनले ११ हजार रूपैयाँ प्राप्त गरे। चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार तथा उपविजेताले १० लाख २५ हजार पुरस्कार पाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले बताए।
शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुने प्रतियोगिताका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।