काठमाडौं- गृहमन्त्री जनार्दन शर्माले डिआइजी नवराज सिलवालको राजीनामा स्वीकृत गरेका छन्।
मन्त्री शर्माका स्वकीय सचिव सन्तोष रिजालले राजीनामा स्वीकृत भएको पत्र आइतबार सम्बन्धित शाखामा गएको जानकारी दिए। उनका अनुसार स्वीकृत मिति भने २१ गते शनिबारको राखिएको छ।
प्रहरीको आइजिपी बन्न नपाएपछि सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए। भदौ २७ मा पूर्ण इजलासले उनको निवेदन खारेज गरेपछि भदौ २८ मा प्रहरी सेवाबाट राजीनामा दिएको पत्र प्रहरी प्रधान कार्यालयमा बुझाएका थिए।
रिट दायर गर्ने क्रममा उनले सर्वोच्चमा पेश गरेको कागजात कीर्ते भएको भन्दै गृह र प्रहरी प्रशासनले कारबाहीको तयारी अगाडि बढाएका थिए। त्यसैका लागि उनको राजीनामा स्वीकृत नगरी थाती राखिएको थियो।
गृह मन्त्रालयको मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ईश्वरराज पौडेलले सिलवालको राजीनामा पत्र आफ्नो टेबलसम्म आइनपुगेको बताउँदै आएका थिए। उनले बिहीबार नेपाल लाइभसँग भनेका थिए, ‘डिआइजी सिलवालको राजीनामाका विषयमा मलाई कुनै जानकारी नै छैन, पत्र मेरो टेबलमा आएकै छैन।’
२०७३ फागुन १ गते डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च गएका सिलवालको रिट निवेदनको सुनवाइ गर्दै फागुन ८ मा जयबहादुर चन्दको बढुवा बदर गरिएको थियो। सरकारले चैत २९ मा डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि सिलवाल दोस्रो रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए।
सिलवाल गत शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए। उनी ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिस भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।