काठमाडौं– प्राइभेट इक्यूटी, भेन्चर क्यापिटल र हेज लगायतका नयाँ संस्थाहरुलाई पुँजी बजारमा प्रवेश गराउन वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा ल्याउन नेपाल धितोपत्र बोर्डले सरोकारवालाहरुसँग सुझाव मागेको छ।
बोर्डले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदाप्रति सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गरेका छन्। बोर्डले वैकल्पिक लगानी कोष नियमावली भनेर उक्त मस्यौदालाई अगाडि बढाए पनि सरोकारवालाहरुले यसलाई ‘भेन्चर क्यापिटल फण्ड मस्यौदा’ को संज्ञा दिएका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले अहिले आफूहरुसँग भएको पुँजी पर्यायाप्त नभएको अवस्थामा मस्यौदामा पुँजीलाई विदेशमा लगानी गर्न पाउने भन्ने कुरा समेटिनु सकारात्मक नभएको बताएका छन्। ‘मुलुकमा अहिले प्राप्त पुँजी छैन त्यसैले पुँजी भित्र्याउनको लागि सबै झ्याल खोल्नुपर्ने अवस्थामा विदेशमा लगानी गर्न पाउने भन्ने कुरा समेटर त्यसको अर्थ छैन,’ उनले भने।
त्यस्तै, इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले मस्यौदामा उल्लेख भएको अनुमति नवीकरण, कम्पनीहरुले विवरण तुरुन्त बुझाउनुपर्ने कुरा समेट्नु नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।