काठमाडौं– नागार्जुन नगरपालिकास्थित गुम्बाचोक लगायतका स्थानमा शुक्रबारदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। वडा कार्यालयले तार व्यवस्थापन गर्ने सिलसिलामा टेलिकमको एरियल केबलमा क्षति पुर्याएपछि टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ।
कम्पनीका अनुसार एरियल केबलमा क्षति पुग्दा गुम्बाचोकका सयौं सेवाग्राहीहरु मर्कामा परेका छन्। नेपाल टेलिकमले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले पटक–पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रति कम्पनीले दुःख व्यक्त गरेको छ।
साथै, अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग पुःन अनुरोध गरेको छ।
सेवा प्रवाहमा समस्या आएको क्षेत्रमा यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ।
केही समययता अन्य विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।