धनगढी– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई समर्थन गर्ने निर्णय गरेको छ। आइतबार बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई समर्थनसहित विश्वासको मत दिने गर्ने निर्णय गरेको हो।
‘बैठकले मुख्यमन्त्रीलाई समर्थन गर्ने निर्णय गरेको छ,’ माओवादी संसदीय दलका उपनेता अक्कल रावलले भने, ‘पावर शेयरिङका विषयमा पार्टीको केन्द्रीय कार्यालय र मुख्यमन्त्रीलाई लिखित सहमतिका लागि बुँदागत लेखेर पठाएका छौं। उहाँले सहमतिका आधारमा अघि बढ्छौं भनेर भन्नुभएको छ। हामी विश्वासको मत दिन्छौं।’
माओवादी केन्द्रले शाहलाई विश्वासको मत दिएमा उनी मुख्यमन्त्री पदमा सुरक्षित रहने छन्। ठूलो दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त हुँदा शाहसंग नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना गरि २३ जनाको समर्थन रहेको थियो।
नेकपा माओवादी केन्द्रका १० जना र नागरिक उन्मुक्तिका ७ तथा १ स्वतन्त्रबाट विश्वासको मत पाए उनलाई ४१ जना प्रदेश सांसदको समर्थन प्राप्त हुने देखिन्छ। नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा १० सिट रहेको नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।