काठमाडौं- रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार निक्की हेलीले चीन सबैभन्दा बलियो दुश्मन रहेको बताएकी छन्। उनले चीनालाई बलियो र अनुशासनात्मक दुश्मन भनेकी छन्।
वासिङटनमा रिपब्लिकन पार्टीले आयोजना गरेको कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले बाइडेन प्रशासनको पनि चर्को आलोचना गरिन्। 'मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकी नागरिकहरूले आकाशतिर हेर्छन् र चिनियाँ जासूस बेलुन देख्छन्। यो सिंगो देशका लागि लाजमर्दो कुरा हो', उनले भनिन्।
उनले चीनलाई जवाफदेही बनाउन जरुरी रहेको बताइन्। यसको सुरुआत कोभिडबाट गरिनुपर्ने उनको भनाइ छ। चीनले अमेरिकाको सिमानाबाट औषधिमा प्रयोग हुने रसायन फेन्टानिल ढुवानी गरिरहेको भन्दै हेलीले त्यसको विरोध गर्नुपर्ने समेत बताएकी छन्।
हेलीले आफ्नो चीन नीतिमा ‘जो बाइडेन सरकारले सजिलैसँग चीन छाडिरहेको’ बताएकी छन्। चिनियाँ कम्पनीहरूले तीन लाख ८० हजार एकडभन्दा बढी अमेरिकी जग्गा किनेका उनको दाबी छ। केही जग्गा अमेरिकाको सैन्य आधारको छेउमै रहेको हेलीले बताएकी छन्। ‘हाम्रा शत्रुहरूलाई हाम्रो देशमा जग्गा किन्न दिनु हुँदैन’, हेलीले भनिन्।
निक्की हेलीको यो भाषणको अहिले निकै तारिफ भइरहेको छ। आफ्नो सम्बोधनमा बाइडेन सरकारको कडा आलोचना गरेकी हेलीले आफू अमेरिकालाई पछि नफर्काउनका लागि राष्ट्रपतिको उम्मेदवार बनेको सुनाइन्।
उनले भनिन्, ‘अमेरिकालाई पछाडि नफर्काउन म राष्ट्रपतिको चुनाव लडेकी छु। म अमेरिका बलियो र गर्व गर्नलायक चाहन्छु, कमजोर होइन।’
बाइडेन सरकारले करदाताको पैसा बर्बाद गरिरहेको उनको आरोप छ। समाजवादले अमेरिकालाई कमजोर बनाएको उनी बताउँछिन्। उनले अमेरिकालाई चीनलाई हराउन सक्ने अर्थतन्त्र चाहिएको बताइन्।
भारतीय मूलकी ५१ वर्षीया निक्की हेलीले सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गरेकी छन्। यद्यपि, उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनौतीलाई पार गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।