धरान– धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औं संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ।
आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा पुगेको हो। काँकडभिट्टाको केएफटिसी टिम भारतीय टिम युकेएफसीलाई पराजित गर्दै फाइलनमा पुगिसकेको छ। शनिबार उपाधिका लागि दुई टिमबीच प्रतिस्पर्धा हुनेछ।
एभिनियरको जितमा खेलको ४५औं मिनेटमा डिम्बाले १ गोल गरे। एभिनियरले थप एक गोल एन्फा मोरङबाट आत्मघाती उपहार पायो। मोरङका सुजन चौधरीले ८५औं मिनेटमा आत्मघाती गोल गरेका हुन्।
आजको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद १० हजार प्राप्त गरेका छन्। शारीरिकरूपमा बलियो क्यामरुनी टोलीसँग मोरङले राम्रो खेल प्रदर्शन गरे पनि नतिजा भने निकाल्न सकेन।
खेलको २२औं मिनेटमा अग्रता लिने राम्रो अवसर मोरङले सदुपयोग गर्न सकेन। सागर विकले दिएको पासमा सञ्जय धिमाल गोल गर्न चुके। मोरङका गोलकिपर प्रनिजय गच्छदारले क्यामरुनका दर्जनौं प्रहार विफल पारिदिए।
खेलको १०औं मिनेटमा फेड्रिक मेड्जोको सशक्त प्रहार उनले पञ्च गरिदिए। खेलको ३०औं मिनेटमा डिफेन्स बिट भइसकेको अवस्थामा रिचार्ज विल्सनको प्रहार पनि उनले मुस्किलले बचाए। दोस्रो हाफको ३९औं मिनेटमा रिचार्ज विल्सनको पासमा कियाली रजकको प्रहार मोरङका गोल किपरले बचाए। भिनियरका खेलाडीहरूले पनि पटकपटक पाएको अवसर गोलमा परिणत गर्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।