काठमाडौं– विशेष अदालतले एउटा मात्रै निर्वाचन क्षेत्र भएको हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा मतियार ठहर गरेको छ।
उनको हकमा सजाय भने निर्धारण भएको छैन। विशेषले सजाय फागुन २५ गते मात्र सजाय सुनाउने छ। मुलुकी फौजदारी संहिता अनुसार मतियारलाई मूल अभियोग ठहर भएका दोषीको बढीमा आधा सजाय हुने उल्लेख छ। अर्थात् मुख्य अभियुक्तलाई जति वर्ष सजाय ठहर हुन्छ त्यसको आधा गुरुङलाई ठहर हुने छ।
एमाले उम्मेदवार पोल्देन गुरुङलाई पराजित गर्दै निर्वाचित भए पनि भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन भएका कारण हालसम्म गुरुङले संसद् प्रवेश गर्न पाएका छैनन्।
विशेषबाट मतियार ठहर भएका कारण उनको निलम्बन अब निरन्तर हुनेछ। प्रतिनिधि सभा नियमावलीमा विशेषबाट फैसला भएमा वा सर्वोच्चमा पुनरावेदन गरेमा के हुने भन्ने स्पष्ट उल्लेख गरेको छैन। गुरुङको हकमा पूर्णपाठ सार्वजनिक भएपछि निलम्बन निरन्तरता हुने छ।
निर्वाचन परिणाम सार्वजनिक भएर अन्य सांसदहरु संसद्मा बहस गरिरहँदा उनी अदालतमा मुद्दा लडिरहेका थिए। विशेष अदालतबाट सफाइ पाएर संसद् छिर्ने उनको योजनामा ब्रेक लागेको छ।
नेपाली कांग्रेस मनाङका जिल्ला सभापतिसमेत रहेका गुरुङविरुद्ध अख्तियारले भृकुटीमण्डपको जग्गा विवादमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते दायर गरेको उक्त मुद्दाका कारण संघीय सांसदको भूमिकामा उनी संसद् छिर्न पाएका छैनन्।
समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत ठेक्का सम्झौता गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ।
गुरुङविरुद्ध अख्तियारले ३१ करोड बिगो दाबी गरेको छ। अख्तियारले मुद्दा दर्ता गरेपछि अदालतमा उपस्थित भएका गुरुङ २०७५ चैत्रमा साधारण तारखेमा छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।