काठमाडौं– विशेष अदालतले भुकृटीमण्डपको जग्गा भाडामा दिँदा भएको अनियमिततामा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ, पूर्व एमाले नेता एवं मन्त्री बद्री न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले दोषी ठहर गर्ने फैसला सुनाएको छ। त्यस्तै उनीहरुमाथि सजाय फागुन २५ गते निर्धारण हुने पेसी तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए।
२०७५ माघ २१ गते अख्तियारले भृकुटीमण्डपको जग्गा भाडा विवादमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री न्यौपानेसमेत १४ जनालाई विपक्षी बनाएको थियो। अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरेको थियो।
अख्तियारले समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कालीन कोषाध्यक्ष रन्न गाहामगर, तत्कानीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उपनिर्देशक बलबहादुर स्वाँर, तत्कालीन कानुनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीलाई विपक्षी बनाएको थियो।
समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत ठेक्का सम्झौता गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ।
गुरुङविरुद्ध अख्तियारले ३१ करोड बिगो दाबी गरेको छ। अख्तियारले मुद्दा दर्ता गरेपछि अदालतमा उपस्थित भएका गुरुङ २०७५ चैत्रमा साधारण तारखेमा छुटेका थिए।
दोषी ठहर भएकाहरु
बद्री न्यौपाने, प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कानीन निर्देशक मदनप्रसाद रिमाल,
मतियार ठहर
टेकबहादुर गुरुङ
सफाइ पाउने
कोषाध्यक्ष रन्न गाहामगर, मदनप्रसाद रिमाल, बलबहादुर स्वार , प्रेमसिंह धामी र जगदेव चौधरी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।