बैतडी– बैतडीमा शनिबार राति मृत फेला परेका दशरथचन्द नगरपालिका १० खडेनीका २५ बर्षीय जीवन बुडालको शव अझै परिवारले बुझेका छैनन्।
पिकनिक मनाउन अन्य ११ जना साथीसंगै दशरथचन्द नगरपालिका–६ सेरा गएका बुडाल शनिबार राति मृत अवस्थामा फेला परेका थिए।
मृतक बुडालको शवको पोस्टमार्टम गरिए पनि अस्पतालमै राखिएको छ। बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन्।
परिवारजनले बुडालसँगै पिकनिक खान गएका १२ जनाको नाममा किटानी जाहेरी दिएका छन्। जाहेरीपछि १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
पिकनिक खान गएका ११ जना र गाडी चालकसहित १२ जनामाथि अनुसन्धानका लागि किटानी जाहेरी दिएको मृतकका दाजु गोविन्द बुडालले बताए। उनीहरुमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।
राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत बझाङमा कार्यरत रहेका मृतक जीवन बुडाल बिदामा घर आएका बेला शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक मनाउने भन्दै ११ जना साथीसँग म १ ज २२२ नम्बरको जिपमा दशरथचन्द नगरपालिका–६, शेरा गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।