काठमाडौं– सरकारले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताएका हुन्।
उनले आगामी शनिवारदेखि पशुपति सरसफाइको अभियान सुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताए। त्यस्तै पशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको पनि उनले जानकारी दिए।
मन्त्री किराँतीले आफू मन्त्रीको रूपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकीय कुराहरूमा सुधार ल्याएको बताए। त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरू घटिरहेका भन्दै महिला विरुद्ध हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको बताए।
त्यस्तै गरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाएको उनले बताए। मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उनको भनाइ छ।
मन्त्री किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यवसायिक योजना माग गरिरहेको पनि बताए। त्यस्तै पर्यटकहरुलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४ सै घण्टा चलाउने तयारी रहेको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।