काठमाडौं– मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन गरिएको छ। विसं २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको काठमाडौंको अनामनगरस्थित भवनको सोमबार पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
भारत सरकारको अनुदानमा निर्मित भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहेको र यस्ता सहयोगले झनै दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

उनले नेपालका लागि भारत सरकारले धेरै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै थप सहयोगको अपेक्षा गरेको बताए। त्यस्तै नेपालका लागि भरतीय राजदूत नविन श्रीवास्तवले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा भारत सरकारबाट धेरै सहयोग भइरहेको उल्लेख गर्दै यस्ता सहयोगले दुई देशबीचको सम्बन्ध थप बिस्तार हुने बताए।
उनले हरेक वर्ष नेपालबाट भारतमा अध्ययनको लागि जाने विद्यार्थीहरुलाई भारत सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताए। उनले भारत सरकारले शिक्षामा गरेको सहयोगले नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि थप राहत हुने विश्वास व्यक्त गरे।
मदन भण्डारी मेमोरियल कलेजको तीन तलाको भवनमा ३० कोठा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।