झापा– झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ–भद्रपुर झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी प्रवेश गरेको छ।
आज भएको सेमिफाइनल खेलमा सङ्कटा क्लबलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुङ्गिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो।
थप गरिएको समयको ११औं मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै सङ्कटालाई आर्मीले १–० ले पराजित गरेको हो। जितसँगै आर्मीले उपाधिका लागि मच्छिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मङ्गलबार खेल्ने छ।
आजको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भएका छन्। उनले नगद २० हजार पुरस्कार पाए। आइतबार हुने अन्तिम सेमिफाइनल खेल मच्छिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ।
गोल्डकपको विजेता टोलीले रु १३ लाख र उपविजेताले रु सात लाख पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।