झापा– झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपअन्तर्गत आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ।
पाहुना टोली ड्रक ल्हायुल एफसी भुटानलाई २–० गोलअन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो। खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक–एक गोल गरे। सुरुआतमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो।
जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आजको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भएका छन्। उनले नगद २० हजार पुरस्कार पाए।
भोलि (शुक्रबार)को खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ ढाका बंगलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए। गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद सात लाख पाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।