नयाँ दिल्ली– भारतका केन्द्रीय मन्त्री पियुष गोयलले सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का अध्यक्ष अमित शाहका छोरा जय शाहको कम्पनीको विषयमा ‘द वायर’ मा प्रकाशित रिपोर्टलाई मनगढन्ते र झुटको संज्ञा दिएका छन्। उनले भाजपाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष शाह र उनको छोराको छवि बिगार्न खोजिएकोमा आपत्ति जनाए। उनले ‘द वायर’ वेबसाइटविरुद्ध १ सय करोड रुपैयाँको मानहानी मुद्दा दायर गर्ने जानकारी दिए।
जयले व्यापार गर्ने सिलसिलामा बैंकमा कुनै धितो नराखी ऋण लिएको विषय ‘द वायर’ ले उठाएको थियो। जुन विषयमा रेल मन्त्री गोयलले स्पष्टीकरण दिँदै भने, ‘उनले ब्याजसहित टिडिएस काटेर ऋण चुक्ता गरिसकेका छन्।’
जयले पनि आफ्नो व्यापार पारदर्शी भएको र यसको हिसाब ट्याक्स रेकर्डमा हेर्दा स्पष्ट हुने जानकारी दिए। उनले कमर्सियल ब्याज चेकमार्फत चुक्ता गरेको बताए। सम्पादक, रिपोर्टर, मिडियाका मालिक विरुद्ध मानहानीको मुद्दा दायर गर्ने उनले बताए।
विपक्षी भारतीय कांग्रेसका नेता कपिल सिब्बलले सत्ताको आडमा आर्थिक दुरुपयोग गरेको आरोप लगाएका छन्। उनले यो सम्बन्धमा प्रधानमन्त्रीले छानबिन कमिटी गठन गर्नुपर्ने प्रतिक्रिया दिए।
‘द वायर’ को रिपोर्टमा २०१४ मा बिजेपी सत्तामा आएपछि अमित शाहका छोराले विभिन्न बैंकबाट १५ करोड रुपैयाँ कर्जा लिएको, अर्को वर्ष नै कम्पनीको आय ८० करोड देखाइएको र तेस्रो वर्ष कम्पनी घाटामा गयो भनेर बन्द गरिएको तथ्य छापेको थियो।
द वायरले घाटामा गएको भनिएको जय शाहको नाममा रहेको अर्को कम्पनीले ७ करोड बराबरको धितो राखेर गुजरात कोअपरेटिभ बैंकबाट २५ करोड ऋण लिएको रिपोर्ट प्रकाशित गरेको छ।एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।