काठमाडौं– विभिन्न १० बुँदे माग राख्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका यातायात मजदुर र सरकारबीच सहमति भएको छ।
मंगलबार बिहान ८ बजेदेखि भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको वार्तामा दुवै पक्षबीच सहमति भएको हो।
सरकारसँग सहमतिपछि यातायात मजदुरले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम पनि फिर्ता लिएका छन्।
यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको बताइएको छ।
यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए। सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए। बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरु तोडफोड समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।