काठमाडौं– सोमबार दिउँसोदेखि तनावग्रस्त बनेको काठमाडौंको बालाजु माछापोखरी क्षेत्र शान्त बन्दै गएको छ। स्थिति सामान्य बनेसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। जसका कारण सडकमा जाम देखिएको छ। बालाजु आसपास क्षेत्रमा ट्राफिक अस्तव्यस्त बनेको छ।
सोमबार दिउँसो यातायात मजदुर र प्रहरीबीच झडप भएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो। यातायात मजदुरले प्रहरीका २ वटा गाडीमा आगजनी गरेका थिए। अहिले प्रहरी त्यही गाडीको आगो ताप्दै यात्रुलाई गन्तव्यतर्फ पठाइरहेका छन्। सडकछेउमा रमिता हेर्नेको भिड लागेको छ।
अहिले सडकमा आन्दोलनकारीहरू नदेखिएको बालाजुमै रहेका हाम्रा सहकर्मी नारायण अधिकारीले बताएका छन्। उनका अनुसार त्यहाँ नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो।
५ पटक कारबाही भोगेपछि लाइसेन्स निलम्बन गर्न थालिएको लगायत अन्य ट्राफिक नियमको विरोधमा यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए। सो क्रममा प्रहरी र यातायात मजदुरबीच झडप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।