काठमाडौं– आफूहरुलाई अलपत्र पारेको भन्दै काठमाडौं विमानस्थलमा यात्रुहरुले श्री एयरलाइन्सविरुद्ध नाराबाजी गरेका छन्। काठमाडौंबाट धनगढी उड्ने भनेर टिकट काटेका यात्रुहरुले उडान निश्चित नभएपछि विमानस्थलमै नाराबाजी गरेका हुन्।
आइतबार साँझ ५:५५ बजेको उडान तालिका रहेपनि सोमबार बिहानसम्म पनि जहाज नआएपछि यात्रुहरुले विमानस्थलमै एयरलाइन्सविरुद्ध नाराबाजी गरेका हुन्।
विमानको प्रतिक्षामा रातभर विमानस्थलमै बसेका यात्रुहरुले बिहान पनि उडान भर्ने टुंगो नभएपछि ‘श्री एयरलाइन्स मुर्दावाद’ भन्दै नाराबाजी गरेका हुन्।
‘५:५५ बजेको फ्लाइट टाइम (उडान समय) थियो। त्यसपछि राति ८ बजे हुन्छ भन्यो। ९ बजे हुन्छ भन्यो। रात यतै बितायौं,’ विमानस्थलमा भेटिएका यात्रुले भने, ‘अहिले (सोमबार बिहान) पनि विमान आउने निश्चित छैन। जरुरी काम सक्न छिटो पुगिएला भनेर विमानको टिकट काटियो। तर जहाज नआउँदा एयरपोर्टमा सुतेर बस्नु परेको छ।’
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले मौसममा आएको खराबीको कारण उडान गर्न नसकिएको बताएका छन्।
काठमाडौंबाट आइतबार साँझ धनगढीका लागि उडेको जहाज अवतरण गर्न नसकेर फर्किएको मानन्धरको भनाइ छ। ‘आइतबार साँझ काठमाडौंबाट जहाज धनगढीका लागि उडेको थियो। तर धनगढीमा अवतरण हुन सकेन,’ मानन्धरले भने।
यात्रुहरुले भने अन्य कम्पनीका जहाजहरु सेड्युल (तालिका)अनुसार नै उडान, अवतरण गरिरहे पनि श्री एयरले ‘मौसमको खराबी’ भनेर उम्किन खोजेको बताएका छन्। आफूहरुलाई २ दिनदेखि अलपत्र पारेको भन्दै यात्रुहरुले क्षतिपूर्तिको माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।