काठमाडौं– जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन्।
प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसंख्यकहरुविरुद्ध भेदभावपूर्ण टिप्पणी गरेको भन्दै आफ्ना सचिव मासायोशी अराइलाई बर्खास्त गरेको बताएका छन्।
समलिंगी विवाहलाई वैधानिकता दिने विषयमा अराइले हालै व्यक्त गरेको टिप्पणीलाई आफूले गम्भीररूपमा लिएको बताउँदै प्रधानमन्त्री किशिदाले सरकारको नीतिसँग पूर्णतया विरोधाभासपूर्ण र अक्षम्य अभिव्यक्ति दिएकाले उनलाई बर्खास्त गरिएको सञ्चारमाध्यमसँग बताएका छन्। साथै उनले अराइको उत्तराधिकारी पनि चयन भइसकेको जानकारी दिए।
प्रधानमन्त्रीको कार्यकारी सचिवको रूपमा कार्यरत अराइले अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनले यौनिक अल्पसंख्यक जोडीलाई हेर्न मन नलाग्ने र उनीहरूप्रति आफूलाई घृणा लागेको पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा बताएका थिए।
उनले जापान समलिंगी विवाहको विपक्षमा हुनुपर्ने टिप्पणी पनि गरेका थिए। उनका टिप्पणी सञ्चारमाध्यमममा सार्वजनिक भएपछि शुक्रबार उनले क्षमा याचना गर्दै आफ्ना भनाइले प्रधानमन्त्रीको धारणा प्रतिविम्बित नगर्ने स्पष्ट पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।