काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका छन्। वर्तमान राजनीतिक संकट र आसन्न राष्ट्रपतिको निर्वाचनका विषयमा दुई नेताबीच छलफल हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयबारे शनिबारसम्म निर्णय नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका बेला दुई शीर्ष नेताबीच भेट भएको हो। ओली सरकार सञ्चालन उच्चस्तरीय संयन्त्रका संयोजक पनि हुन्।
बिहीबारको बैठकबाटै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय लिने आकलन गरिएको थियो। नेताहरुले पनि सोही आशयको अभिव्यक्ति दिएका थिए। तर, बैठक सुरु हुनुअघि र सुरु भइसकेपछि सो पार्टीका सभापति रवि लामिछानेसँग प्रधानमन्त्री ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कुरा गरेका थिए।
नेताहरुसँग कुरा भएको र उनीहरुले नै पर्खन भनेपछि दुई दिन पर्खिने निर्णय लिइएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताएका थिए। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र त्यहाँ छलफल हुने भएकाले दुई दिन कुर्न भनिएको उनको भनाइ थियो।
दुई दिनभित्र कुनै सहमति नभए पुनः बैठक बसेर निर्णय लिने ढकालको भनाइ थियो। यद्यपि, शुक्रबार संयन्त्रको बैठक बसेको छैन। शनिबार पनि बैठक बस्ने/नबस्नेबारे अहिलेसम्म निर्णय भएको छैन। ओली–भेटपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनेबारे निर्णय हुनसक्ने बताइएको छ।
नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रवि लामिछानेलाई दोषी ठहर गरेपछि उनले सांसद, मन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए। गत आइतबार नागरिकता पुनःप्राप्ति गरेका थिए। त्यसै दिन पार्टी सभापति भएका थिए। त्यसपछि आफूलाई पुनः गृहमन्त्री बनाउन उनले पहल गर्दै आएका छन्। तर, प्रधानमन्त्री प्रचण्ड तयार छैनन्। ओलीले भने रविलाई साथ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।