रास्वपा बैठक। फाइल तस्बिर।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहने अन्तिम निर्णय लिनुअघि पर्खिने भनिएको दुई दिनको समयावधि शनिबार सकिँदै छ। गत बिहीबार साँझ बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने निर्णय लिएको थियो।
बिहीबारको बैठकबाटै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय लिने आकलन गरिएको थियो। नेताहरुले पनि सोही आशयको अभिव्यक्ति दिएका थिए। तर, बैठक सुरु हुनुअघि र सुरु भइसकेपछि सो पार्टीका सभापति रवि लामिछानेसँग प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कुरा गरेका थिए।
नेताहरुसँग कुरा भएको र उनीहरुले नै पर्खन भनेपछि दुई दिन पर्खिने निर्णय लिइएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताएका थिए। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र त्यहाँ छलफल हुने भएकाले दुई दिन कुर्न भनिएको उनको भनाइ थियो।
‘राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय लिऔँ भनेर प्रस्ताव आएको हो’, उनले भने, ’राजनीतिक इमानदारिताका लागि पनि दुई दिन कुर्ने निर्णय लिएका हौँ।’
दुई दिनभित्र कुनै सहमति नभए पुनः बैठक बसेर निर्णय लिने ढकालको भनाइ थियो। यद्यपि, शुक्रबार संयन्त्रको बैठक बसेको छैन।
नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रवि लामिछानेलाई दोषी ठहर गरेपछि उनले सांसद, मन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए। गत आइतबार नागरिकता पुनःप्राप्ति गरेका थिए। त्यसै दिन पार्टी सभापति भएका थिए। त्यसपछि आफूलाई पुनः गृहमन्त्री बनाउन उनले पहल गर्दै आएका छन्। तर, प्रधानमन्त्री प्रचण्ड तयार छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।