काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्णय लिनका लागि दुई दिनको समय दिएको छ। पार्टी सभापति रवि लामिछानेलाई नै दोहोर्याउनुपर्ने भन्ने विषयमा भने पार्टीमा एकमत हुन सकेन। त्यसपछि दुई दिन पर्खिने ‘मध्यमार्गी’ निर्णय लिइएको रास्वपाका एक सांसद बताउँछन्।
नागरिकता पुन:प्राप्तिपछि पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय फर्किने रुचि पेस गरेका थिए। गैरसांसदका रुपमा मन्त्री बन्न चाहेका उनलाई प्रधानमन्त्री प्रचण्डले रोकेका हुन्। प्रचण्डलाई लामिछानेले दिएको ‘अल्टिमेटम’ प्रभावकारी नभएपछि फेरि दुई दिनको समय दिइएको हो।
सत्ता साझेदार दलहरू विशेषगरी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सुझावअनुसार रास्वपाले सत्ता साझेदारीको निर्णयलाई ‘पर्ख र हेर’मा राखेको हो। बैठक बस्नुअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले रवि लामिछानेलाई फोन गरेका थिए। उनीहरूले केही दिनको समय मागेको महासचिव मुकुल ढकालले बैठकपछि प्रतिक्रिया दिने क्रममा बताएका थिए।
गृह मन्त्रालयका विषयमा तत्काल निर्णय नलिने प्रधानमन्त्री प्रचण्डको भनाइमा सत्ता साझेदार दल सहमत नभएपनि लामिछानेलाई नदोहोर्याउने विषयमा भने उनीहरू एक ठाउँ आइपुगेका छन्। सत्ता साझेदार दलहरूमध्ये नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने पक्षमा छन्। तर, लामिछानेलाई दोहोर्याउने विषयमा भने ती पार्टीका नेताहरू सहमत छैनन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बाहिर लामिछानेकै पक्षमा ‘लबिङ’ गरेजस्तो देखिएका छन्। आफू निकट नेताहरूसँग भने उनले सोही पार्टीबाट लामिछानेबाहेकको कुनै सांसद गृहमन्त्री हुने बताएका छन्। ओलीनिकट एक नेताका अनुसार लामिछाने आफैंले तत्काल मन्त्रालय फर्किने कुरामा धेरै जोड नगरे हुन्थ्यो भन्ने चाहना ओलीको छ। उनी भन्छन्, ‘अप्ठ्यारो समयमा लामिछानेजी (पार्टी)को साथ हामी छाड्दैनौं तर, अहिलेको अप्ठ्यारो उहाँले नै सुल्झाइदिए हुन्थ्यो।’
पछिल्लो समय लामिछाने ओलीसँग निरन्तर संवाद्मा छन्। ओलीले व्यक्तिगत र सार्वजनिक रुपमा ढाडस समेत दिइरहेका छन्। उनले बिहीबार पनि भने, ‘कसलाई बनाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हो। हामीले गृह मन्त्रालयको उसलाई दिएका हौँ। त्यो पार्टीले रवि लामिछानेलाई पहिले तोकेको हो। त्यसअनुसार बनाएका हौँ। फेरि पनि रवि लामिछानेलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको कुरा हो।’
ओलीनिकट ती नेताका अनुसार उक्त भनाइ सार्वजनिक टिप्पणी हो। एमालेको बटमलाइन त्यो होइन। ‘हामीले गृह मन्त्रालय रविजीकै पार्टीलाई फिर्ता गर्ने कुरामा प्रष्ट छौं तर उहाँ आफैं अघि नसरिदिँदा राम्रो हुन्छ भन्ने हाम्रो चाहना छ। उहाँहरूका सदस्यहरूमार्फत् संकेत पनि भइसकेको छ’, एमालेका ती नेता भन्छन्।
यसैगरी, राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो। गृह मन्त्रालय रास्वपाले पाउनुपर्ने तर लामिछानेले भने ‘नैतिकता’ देखाउनुपर्ने अधिकांश नेताहरूको भनाइ थियो। राप्रपाले रास्वपाका नेताहरूलाई गृह मन्त्रालय को दलले पाउने भन्ने विषयमा सकारात्मक रहेपनि लामिछानेकै पक्षमा उभिन भने नसक्ने बताइसकेका छन्।
रास्वपामा पनि गैरसांसदका रुपमा लामिछानेले नै उक्त मन्त्रालय सम्हाल्ने विषयमा केही नेताहरू फरक मत राखेको उक्त पार्टीका एक सांसदले बताए। ‘साथीहरूले खुलेरै विरोध गरेका त होइनन् तर, हामीले राजनीतिमा भएको फोहोर सफा गर्ने भनेर गरेको प्रतिबद्धता कायम राख्नुपर्छ भनेर साथीहरूले बैठकमा कुरा राख्नुभएको छ। यसबाट सभापतिज्यूले संकेत पाइसक्नुभएको होला’ रास्वपाका ती सांसदले भने।
गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता चिर्न ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी छ। त्यहाँ छलफल गरेर टुंग्याउने आश्वासन प्रचण्ड र ओलीले दिएपछि रास्वपा दुई दिन कुर्न तयार भएको हो। ‘राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय लिऔँ भनेर प्रस्ताव आएको छ’, बिहीबारको बैठकपछि महामन्त्री ढकालले भने, ‘राजनीतिक इमानदारिताका लागि पनि दुई दिन कुर्ने निर्णय लिएका हौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।