जाजरकोट– ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि जाजरकोटको नलगाड नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ।
नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए।
अहिले पालिकाको प्रशासकीय केन्द्र दल्लीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन–जान मात्र दुई दिन लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको गिरीले जानकारी दिए।
बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामा नै धेरै रकम खर्च हुने भएपछि गाउँघरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याइएको हो।
नगपालिकामा १३ वडा छन्। साविकका पाँच गाविस मिलाएर नगरपालिका बनेको हो। प्रत्येक वडामा एक दिन लगाएर भत्ता वितरणको काम सुरु भएको छ।
गाउँमै भत्ता पाएपछि आफूहरु खुशी भएको नलगाड नगरपालिका–८ का बले कामीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।