काठमाडौं– वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको छ। शुक्रबार वायुसेवा सञ्चालक संघले काठमाडौंमा हवाई सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको दाबी गरेको हो।
संघले हवाई दुर्घटना एउटामात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ। संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए। उनले धेरै राम्रो हवाई सुरक्षा भएका देशहरुमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको दृष्टान्त दिए।
उनले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे।
अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन, मौसम, प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानवीय गल्ति लगायतका कुनै पनि कारण हुनसक्ने बताए। उनले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गर्दै सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पुर्याउन आवश्यक रहेको बताए।
अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणा ल्याउन जरुरी रहेको औंल्याए। उनले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पुर्याएको उल्लेख गरे।
कार्यक्रममा संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकहरुको समेत सहकार्यमा ल्याएको बताए। उनले प्राधिकरणले ल्याएको नयाँ नियमले
हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन मद्दत पुग्ने स्पष्ट पारे।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनको लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।