काठमाडौं– नेपालमा हवाई सुरक्षाका लागि कानुनी संरचना परिर्वतनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यस्तो रिट दायर गरेका हुन्। शुक्रबार दर्ता भएको रिटलाई माघ २४ गते पेसी तोकिएको छ।
नेपालमा कानुनी, प्राविधिक एवं संरचनागत क्षमताको अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको दाबी रिटमा गरिएको छ।
हवाई यातायातलाई सुरक्षित तुल्याउन चाल्नु पर्ने कानुनी, प्राविधिक एवं संरचनागत कदमका सम्बन्धमा विभिन्न आदेश माग गरिएको उनले बताए।
रिटमा विशेषज्ञहरुको उच्चस्तरीय समिति गठन गरि उड्डयन क्षेत्रसँग सम्बन्धित विद्यमान कानुन, नियम, सुरक्षा मापदण्डको समग्र रुपमा पुनरवलोकन गरि विशेषज्ञ समितिको नतिजा एवं सिफारिस बमोजिम हवाई यातायातको सञ्चालन सम्बन्धी विद्यमान कानुन, निति एवं हवाई सुरक्षा मापदण्डहरुको संशोधन एवं परिमार्जन गर्नू भनि परमादेशको माग गरिएको छ।
हवाई सुरक्षाका सम्बन्धमा आईकाओले सिफारिस गरेका मापदण्डहरुको आधारमा निरन्तर अनुगमन गर्न तत्काल विशेषज्ञहरुको एउटा स्थायी संयन्त्र वा कमिसन गठन गर्न परमादेश जारी गर्न रिटमा माग गरिएको छ।
उड्डयन सुरक्षाको क्षेत्रमा गरिने सम्झौता र बेवास्तालाई फौजदारी अभियोजन गरिनु पर्ने सम्बन्धमा आवश्यक कानुनी बन्दोबस्त गर्न रिटमा माग गरिएको छ। हवाई दुर्घटनाको जाँच गर्न स्वन्त्र, स्वायत्त एव स्थायी संयन्त्र बनाउन माग गरिएको छ।
नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अन्तर्गत प्रतिपादित मापदण्ड तथा सिफारिस (स्ट्याण्डर्ड एण्ड रिकमेण्डेड प्र्याक्टिसेज), तत्काल लागू गर्न रिटमा माग गरिएको छ। मेन्टरल कन्भेन्सन १९९९ लाई कार्यान्वयन गर्न तत्काल घरेलु कानुन बनाउन पनि भनिएको छ।
भर्खर मात्र पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भई चालक दलका सदस्यसहित ७१ जनाको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।