काठमाडौं– बाजुराको बिच्छ्या केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पको धक्काले बाजुरासहित बझाङमा पनि घरहरु भत्किएका छन्। ढुंगा र माटोले बनेका घरहरु कति चर्किएका छन् भने कति भत्किएका छन्।
केही विद्यालयसमेत भत्किएका छन्। विद्यार्थीहरु बाहिर भएका कारण मानवीय क्षति नपुगेको बताइएको छ। भूकम्पको क्षतिका विषयमा थप विवरण आउन भने बाँकी छ।

यस्तै, बझाङ सदरमुकाम चैनपुरमा पनि भूकम्पको धक्काले घरहरु भत्किएका छन्। चैनपुरमा रहेको कृषि ज्ञान केन्द्र (हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको) भवन भत्किएको छ। यस्तै अन्य घरका पनि भित्ताहरु चर्किएका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको बिच्छ्या क्षेत्र केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो ५.९ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमका साथै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ।
भूकम्पको धक्का भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र उत्तराखण्ड प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।