काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरूको विकास हुन नसकेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताए। उनले मार्चको तेस्रो हप्ता सुरु गर्नेगरी परिषद्ले एसियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको जानकारी दिए।
उनले राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम सहभागिताका रुपमा आफ्ना कार्यहरू अघि सारेको बताए।
उनले राज्यले मेहनति एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्नेगरी राखेप अघि बढिरहेको जानकारी दिए। राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यकता परेपनि राज्यले लगानी गर्ने निर्णय परिषद्बाट भएको बताए।
सदस्यसचिव घिसिङले खेलाडी छनोट भनसुनका आधारमा गर्न थालेपछि राष्ट्रले शर्मनाक हार व्यहोर्ने बताए। उनले अझैपनि नेपाली समाजमा कुनै पदाधिकारीलाई भनेपछि खेलाडी बन्ने र प्रशिक्षक बन्नसक्ने खराब सोच हट्न नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।