कास्की– पोखरमा भोलि आइतबारदेखि सुरु हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ।
आयोजक टाइगर ग्रुपले शनिबार पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना नगरी प्रतियोगिताको सबै तयारी सकिएको जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए।
उनका अनुसार आइतबार मध्याह्न पुरुषतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच खेल हुनेछ। तेस्रो खेल आयोजक पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसका बीच हुनेछ। प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरीको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र आयोजक गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ।
प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकलाई सहज खेल हेर्ने अवसर प्रदान गर्ने गरी यसपटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको र प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन ‘एलइडी स्क्रिन’ राखिएको अध्यक्ष शर्माले जानकारी दिए।
उनले भने, “दर्शकहरूलाई सहज खेलको अवलोकन तथा मनोरञ्जन प्रदान गर्न अस्थायी प्यारापिट बनाएका छौँ। वृद्धवद्धाका लागि छुट्टै कुर्सीको व्यवस्था गर्नेछौँ।” आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएकोे छ। महिला–पुरुष दुवैतर्फ च्याम्पियन टोलीलाई रु पाँच–पाँच लाख र उपविजेता टिमलाई समान नगद रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।
तृतीय हुने टोलीलाई रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक देवेन्द्र केसीले दिए। महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन्। हरेक विद्याका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई रु १०–१० हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।