काठमाडौं– साथी किन चाहिन्छ?
साथी नहुँदो हो त मानिसले मनमा गुम्सिरहेको कुरा कसलाई पोख्छ होला? आफू पोखिन, फैलिन र खुसी हुन साथी विना सकिन्छ कि सकिन्न?
यी प्रश्नहरू मनमा पक्कै आउँछन् होला है!
हामी सधैं मन पोख्ने साथी खोजिरहन्छौँ। यतिबेला टेकुस्थित कौसी थिएटरले ‘साथी’ खाजिरहेको छ। कलाकार तथा रंगकर्मी आशान्त शर्माले बोलाइरहेका छन्, ‘साथी, साथी आइदेऊ न!’
तर ‘साथी’ कसका लागि आइदिने त? नाटक हेरेर फर्केपछि लाग्छ, ‘आफ्नै लागि।’
नाटकले हाम्रो कठोर वास्तविकता देखाउँछ। मनमा मडारिइरहेको कुहिरो, एक्लो हुँदा गर्ने निरीह अनुभूति। घर, परिवार, समाज र वरपरका साथीभाइ सबैबाट अपहेलित महसुस भएको क्षण। आफूले आफूलाई कमजोर सोचिरहेको दिन, एउटी किशोरी सल लिएर आत्महत्या गर्न निस्कन्छिन्।
तर उनलाई बचाउन आउने एउटा साथी। यस्ता साथी, जसले किशोरीलाई जीवनका गीत गाउन सिकाउँछन्। सम्भावनाका बाटो हिँड्न सिकाउँछन्। र आफ्नो साथी चिन्न सिकाउँछन्।
त्यसपछि ती किशोरीको अनुहारमा आएको परिवर्तन, जुन हेर्नका लागि पनि कौसीमा पुग्नुपर्ने छ। कम्तिमा त्यो परिवर्तन हामी सबैको अनुहारमा फैलन जरुरी छ।
०००
नाटकका केन्द्रीय पात्र किशोरी किशोरी हुन्। परीक्षामा कम नम्बर आएर कलिलो विद्यार्थीले जीवन सिध्याएका घटना हामीसामु थुप्रै छन्। फेसबुक/मोबाइलको लत र त्यसले बालबालिकाका जीवनमा पारेका दीर्घकालीन असर पनि हामीले देखेका छौँ।
नाटकले भन्छ, ‘यसबाट जोगिन साथी चाहिन्छ।’
नाटकले दर्शकलाई वास्तविकता बुझाउँछ, तर त्यो पीडा मनमा जमाउन दिँदैन। कोही दर्शक रुन नपाउँदै हाँस्न पुग्छ, तनाब महसुस गर्न नपाउँदै हलुका हुन्छ। नाटकका निर्देशक आशान्त शर्मा भन्छन्, ‘गम्भीर विषयमाथि नाटक बनाउँदैछौँ। यसलाई गम्भीर भएर मञ्चन गर्यौं भने त दर्शक ट्रमामा जान्छन्। हलमा आउँदा समस्या बुझुन् र आशा बाकेर जाउन् भन्ने हाम्रो ध्येय हो।’
नाटकमा साथी साथीबीचको संवादहरू रोचक छन्, सुनिरहुँजस्ता। मञ्चको सजावट, जसले दर्शकमा कल्पनाशीलता भरिदिन मद्दत गर्छ। रङ संयोजनले खुसीका रङहरू नै बाँड्न सहयोग गर्छ।
०००
मानसिक स्वास्थ्य अहिले बहसको विषय बनिरहेको छ। विभिन्न समयमा आत्महत्यका घटना हामी सुनिरहन्छौँ। आशान्त चाहन्छन्, ‘कम्तिमा हामीले हाम्रा आफन्त जोगाउनु छ। साथी भाइ जोगाउनु छ।’
नत्र त आफ्नै भतिजा जोगाउन नसकेको पीडाले उनलाई हानिरहँदो रहेछ। भतिजा गुमाएको घटनाले नै आशान्तलाई यो विषयमा सोच्न घच्घच्याइरह्यो।
१२ चैत्र २०७८,
उनी आफ्नो घर नवलपरासीबाट काठमाडौं फर्कँदै थिए। मलेखु आएपछि बाइक रोकेर मोबाइल हेर्छन् त फोनमा दर्जन भन्दा बढी मिसकलका घण्टी बजेका छन्। सुरुमा आमालाई कलब्याक गरे। ‘बाबु अहिले जाऊ। भोलि बिहानै फर्किहाल है।’
अचानक ‘फर्क’ भन्ने आमाको आदेशले आशान्त झस्कन्छन्।
सोध्छन्,‘किन आमा?’
‘आकाश छैन नी बाबु,’ आमाको जवाफले उनको शरीर चिसो भयो।
२८ वर्षका ती भतिज सोझा थिए। बोल्नमा केही समस्या थियो उनको। जसलाई अरुले मजाकको विषय बनाउँथे। उनले एक दुई जना साथीलाई भनेका पनि रहेछन्, ‘मलाई सबैले हेप्छन्।’
आफ्नो कुरा भन्ने मान्छे नै कोही नपाएर उनी बिते भन्ने अनुमान थियो आशान्तको। अहिले पनि त्यो घटना स्मृतिमा ठोकियो भने उनको गला अवरुद्ध हुन्छ।
भतिजको दाहसंस्कार गर्ने बेलामा पनि अर्को युवाको लाश ल्याइएको थियो। त्यो पनि आत्महत्याकै घटना।
‘गाउँमा त्यतिबेलासम्म पाँच जनाले आत्महत्या गरिसकेका रहेछन्। मान्छेले एक अर्काको बारेमा सोचिदिनुपर्छ भन्ने लागिरह्यो। त्यतिबेला नै यो विषयमा नाटक गर्छु भन्ने सोचेँ,’ उनी भन्छन्।
सर्वप्रथम त, त्यो घटनाले दिएको पीडा कम गराउनु थियो। उनी केही समय फिल्मतिर लागे। त्यसपछि अर्को नाटकको तयारी गर्दै थिए। मानसिक स्वास्थ्यको विषयले उनलाई लगातार हानिरह्यो। उनले त्यो नाटकलाई थाती राखेर यो नाटकमा लागे।
मनोपरामर्शविद्सँग भेटे। यस विषयमा छलफल गरे। ‘आत्महत्या प्रयास गरेर बाँचेर फर्किएकाहरूसँग पनि भेटेँ। जो अहिले मानसिक स्वास्थ्यकै मुद्दामा काम गरिरहनुभएको छ,’ आशान्त भन्छन्।
त्यसपछि उनले तयार पारे, ‘साथी, साथी आइदेऊ न।’
नाटकले आशा जगाउँछ, जीवनप्रति। सुन्दर सपना देखाउँछ, भविष्यप्रति।
नाटकमा साथी चिनाउने साथीहरू छन्– प्रभाकर न्यौपाने, सरला पराजुली, दिव्या मगर, छिरिङ शेर्पा, प्रनिश मगर लगायत...। १५ गतेसम्म कौसीमा उनीहरू तपाईंलाई पर्खिरहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।