कुनैबेला-
आगो हुन्थ्यो मस्तिष्कमा
र , तिमी दन्किरहेका हुन्थ्यौ!
कुनैबेला-
ज्वारभाटा उम्लिन्थ्यो
आउँथ्यो भुकम्प
र / तिमी हुँकार गर्थ्यौ!
तिमीसँग हतियार थियो कुनैबेला
र / तिमी निर्धक्क सुत्थ्यौ जंगलमा पनि!
तिमीसँग घृणा भएसम्म तिमी जीवित थियौ
र / उफ्रेर चिच्याउँथ्यौ!
कुनै हतार थिएन फर्केर आउन आफैंतिर
आफ्नै जस्तो लाग्थ्यो बारुद ओछ्याएको बाटो।
जुनदिन -
हिंड्दै गर्दा बिर्सियौ गन्तव्य
घरतिर जाँदै गर्दा देखेनौ घर
जुनदिन-
भेटेनौ आफ्नै पाइतालाको पदचाप
- तिमी झस्कियौ।
तिमी त्यतिबेला झस्कियौ जतिबेला थिएन तिमीसँग
डाइनामाइट
थिएन कुनै बन्दुक वा / सिद्धान्त
जतिबेला तिमीसँग थिएन फर्कने बाटो!
विचारको अग्लो डाँडाबाट खुर्मुरिएपछि
चिप्लिएपछि आफ्नै आस्थाको उचाईबाट
तिमी ब्युँझियौ!
-म्याराथन दौडिरहेको आवेग
अहिले कोमामा छ
स्थगित छन् अहिले तमाम यात्राहरू।
इमर्जेन्सीमा कुदिरहेको छ बतास
स्मृतिको केन्द्रबाट क्रमशः हराउँदैछ चेतना
उड्दै छ धुवाँ र / छोपिएको छ -इतिहासको दृश्य!
- कमरेड शिथिल!
जुनदिन तिमीले गर्यौ प्रेम जीवनसँग
जुनदिन सुम्प्यौ -
आफ्ना सबै हतियारहरू दुश्मनहरूलाई
र / फर्क्यौ -
युद्धको अन्तिम मोर्चाबाट!
-त्यहिदिन तिमी गायब भयौ।
र / त्यहिदिन -
तिम्रो सर्वोच्च कमान्डर सिंहदरबार छिर्यो!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।