काठमाडौं– धेरै वर्ष पहिले सुदूरपश्चिमतिर (सायद देशका अरु भागमा पनि) का एफएममा एउटा गीत खुब गुञ्जिन्थ्यो- ‘लुकाउन खोजे पनि।’ त्यो गीत गाउने तिलकसिंह पेला थिए। बैतडीको दशरथ चन्द नगरपालिका- ६ मा जन्मिएका पेला सम्भवत: त्यो क्षेत्रका पहिलो आधुनिक गायक थिए। देउडा गाउने र सुन्ने समाजका उनको पहिलो एल्बम ‘आँसु’ नै आधुनिक गीतहरुको संग्रह थियो।
२०५३ सालमा सार्वजनिक भएको गीतको स्रोताका तर्फबाट भव्य स्वागत भयो। क्यासेटको समयमा प्रशस्त क्यासेट बिके। त्यही एल्बमको ‘लुकाउन खोजे पनि’ चर्चित बनाएका पेलाले त्यसपछि भने आफ्नो आवाज लुकाउन खोजे।
आवाज हिट बनाइसकेका गायक पेला त्यसपछि कतै सुनिएनन्। त्यति देखिएनन्। चर्चाको दुनियाँ छाडेर साधनाको कुटीमा लुकेका पेला ४ दिनदेखि फेरि ‘भाइरल’ छन्। २५ वर्षपछि फेरि उनको आवाजको चर्चा चुलिएको छ।
उनको स्वरमा रहेको नयाँ गजल ‘के लत बस्यो’ले धेरैलाई सुन्न लत लगाएको छ। पेलाको गायन हृदयस्पर्शी भएर एक कान-दोकान भइरहेको छ। कतिपयले आफूले एक हजारपल्ट सुनिसकेको दाबी गरेका छन्। गणितीय हिसाबले यो पत्याइहाल्नुपर्ने कुरा नभए पनि भावनाका हिसाबले सही छ। किनभने, जतिपल्ट सुन्यो, त्यति मोहनी लगाउने उनको मखमली आवाजमा जादु छ।
गीत सुनिने क्रम जारी छ। तर गायक पेलालाई गीत सुनाउनु थिएन। त्यसैले कतिले सुने/हेरे उनलाई उति चासो छैन। कस्तो प्रतिक्रिया आइरहेको छ? त्यसप्रति पनि उनलाई कुनै दिलचस्पी छैन।
चर्चा त पहिलो गीतबाटै पुग्दो पाइसकेका हुन्। चर्चाका लोभी भए त्यसैलाई भजाएर अघि बढ्थे। साधना बिनाको चर्चा स्रोतामाथिको अन्याय महसुस भयो उनलाई। त्यही बखत उनले गीत रेकर्ड गराउने क्रम चटक्क छाडिदिए, र संगीत सिकाउने गुरु खोज्दै हिँडे।
काठमाडौंमा उनले पण्डित धनबहादुर गोपाली भेटाए। उनीसँगै साधना क्रममा लागे। संगीतको भोक-प्यास त्यतिमै नमेटिएपछि वनारस आउने-जाने पनि गरे। त्यहाँ पण्डित देवाशिषसँग साधना गरे।
आफूले एक तहसम्म जानेपछि बाँड्ने रुचि जाग्यो। संगीतप्रेमी जुटाएर यसको ज्ञान आदानप्रदान गर्ने रहरले बनस्थलीमा खुल्यो- श्रीकृष्ण गुरुकुल पाठशाला। त्यहीँ उनले संगीत साधना गरे। सिक्न आउनेलाई संगीत सिकाए।
दुनियाँका नजरमा उनी हराए। तर आफ्नै नजरमा उनी संगीतमा यत्रतत्र थिए। हरपल, हरक्षण थिए। उनलाई लाग्छ, ‘चर्चामा आएर ज्ञानी त भइने रहेनछ। संगीतसँग प्रिय संगत हुने रहेनछ। मलाई संगीत आत्मसाथ गर्नु थियो। गरिरहेको छु। दुनियाँका नजरमा हराएँ, तर आफ्नो नजरमा भने हरक्षण संगीतमा थिएँ।’
उनलाई गीत रेकर्ड गराएर फेरि दुनियाँलाई देखाउने रहर थिएन। त्यसैले २३ वर्ष उनले गीत गाइरहे। सुनाइरहे संगीतप्रेमीलाई, तर रेकर्ड गराएनन्। एक दिन डायरी पल्टाउँदै गर्दा उनलाई महसुस भयो, ‘मैले गीत लिएर कम्पोज गरेको रहेछु। मेरै आवाजमा गीत रेकर्ड गराउन चाहने ती सर्जकमाथि अन्याय भयो कि?’
आमजनका हिसाबले संगीतको किनारमा बसेका उनी दुनियाँको आँखाले देख्ने संगीतको भेलमा हेलिए- ‘निर्जन किनार’मार्फत्। टिकटक र फेसबुकका ‘अन्टसन्ट’ले गीत चल्ने समयमा उनको आवाजको झंकार कहीँकतै किनार पर्यो। एउटा गीत ल्याएर त्यसैको भरपुर प्रमोसन गर्ने समयमा उनले ८ वटा गीतको एल्बम ल्याए। उनलाई गाउनु थियो, तर बलजफ्ती सुनाउनु थिएन। त्यसैले प्रचार-प्रसारबाट टकटकिए। निश्चितले सुने- आहा! भने। त्यसैमा सीमित भयो।
त्यो गीत संग्रहपछि ४ दिनअघि युट्युबमा आइपुग्यो- ‘के लत लाग्यो...’। गायक तथा संगीतकार पेलाका लागि संगीत साधनाकै एउटा उपक्रम थियो यो पनि। यसपल्ट पेलाको आवाज संगीतप्रेमीहरुभन्दा वर आइपुग्यो। जहाँ स्रोता पनि छन्। जहाँ आफूले सुनेर मन परेपछि अरुलाई सिफारिस गर्नेहरु छन्। सुरुका दुई दिन निकै सुस्त चलेको यो गीतको युट्युब भ्युज पछिल्ला दुई दिनदेखि लगातार उकालिएर दुई लाख ४० हजार वरपर पुगेको छ।
खासमा यो उनी आफैं गाएर रेकर्ड गर्न चाहेका थिएनन्। रेकर्ड गर्ने कुरा भएपछि आफ्ना चेला कमल विष्टलाई गायनका लागि अघि सारेका हुन्। केही समयअघि नाचघरमा भएको ‘गजल मुशायरा’मा यो गीत विष्टले नै गाएका हुन्। उक्त कार्यक्रममा ८ वटा गजल गाइएका थिए। जसको संगीत निर्देशन पेलाले गरेका थिए। गाउने ८ जना गायक अरु नै थिए।
गजलकार डा प्रदीपकुमार मैनालीले लकडाउनका बेला पेलाको स्वरको परख गरेका थिए। लकडाउनको समयमा संगीत साधनाका क्रममा पेलाका स-साना भिडियो सामाजिक सञ्जालमा देखिए। त्यही भिडियो देखेर गजलकार रवि प्राञ्जलमार्फत् डा भट्टराई पेलासम्म पुगेका थिए। पेलाको आवाजको पारखी बनिसकेका गजलकार मैनालीले उनकै स्वरमा रेकर्ड गराउन जोडबल गरे।
त्यही जोडबलले पेलाको आवाज २५ वर्षपछि फेरि आम-तमाम स्रोतमाझ पुगिरहेको छ। संगीत सिकाउन सक्रिय पेलाले पछिल्ला दुई दिनमा गायनलाई लिएर भइरहेको चर्चा नियालिरहेका छन्। त्यसले मनमा एक प्रकारको ‘सुकून’ त छ, तर त्यसभन्दा बढी केही छैन। भन्छन्, ‘संगीतबाट चर्चाको यात्रामा आफैंले विश्राम लिएको हुँ।’
२०५१ सालमा उनले ‘आँसु’ एल्बम् ल्याउँदा गायक बन्नु थियो। उनले अग्रजसँग सानैमा सोधेका हुन्- गायक बन्न के गर्नुपर्छ? कसैले गीत रेकर्ड गर्न भनेका थिए भने कसैले रेडियो नेपालको स्वर परीक्षा पास गर्न। उनले दुवै काम गरे। त्यतिले चित्त बुझेन र सोधखोज गरे। त्यही क्रममा उनले जानकारी पाए- संगीतको औपचारिक शिक्षा हुन्छ। गुरुकुल हुन्छन्। शिक्षालय हुन्छन्। त्यसपछि उनी संगीत साधनामा लीन भए। त्यसपछि सिक्न र सिकाउनै तल्लिन भए।
संगीतबाट सेलिब्रिटी बन्ने कुरामा उति रुचि नभएका उनी संगीतलाई हरक्षण ‘सेलिब्रेट’ गरिरहेका हुन्छन्। अहिले संगीत पारखीले उनको आवाजलाई सेलिब्रेट गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।