काठमाडौं- पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थल पुगेका छन्।
'घटनालगत्तै सम्माननीय प्रधानमन्त्रीज्युले उद्धारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन गर्नु भएको छ', प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमा जानकारी दिएका छन्, 'आजका सबै औपचारिक कार्यक्रम रद्द गरि प्रधानमन्त्रीज्यु अवस्था बुझ्न एयरपोर्ट पुग्नु भएको छ।'
प्रधानमन्त्रीले आजै (आइतबार) मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको उनले लेखेका छन्।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान दुर्घटनामा परेको थियो।
पोखरास्थित पुरानो विमानस्थल नजिकै सेती खोचमा दुर्घटनामा परी कैयौँ यात्रुको निधन भएको बताइएको छ। यद्यपि, मृतकहरुको पूर्ण विवरण सार्वजनिक भएको छैन।
कमल केसीले उडाएको विमानमा ६८ यात्र र चार जना चालक दलका सदस्य रहेको यति एयरलाइन्सले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।