काठमाडौं- गत आर्थिक वर्षमा लगातार घट्दो रुपमा रहेको देशको ढुकुटी (विदेशी विनिमय सञ्चिति) चालु आर्थिक वर्षको सुरुवातबाट सुधारात्मक बाटोमा देखएिको छ। एक महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १९ करोड डलरले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनासम्मको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म ९ अर्ब ६३ करोड डलर रहेको विदेशी विनिमय संचिति मंसिर मसान्तमा बढेर ९ अर्ब ८२ करोड डलर पुगेको छ। मंसिर मसान्तसम्म विदेशी विनिमय संचिति असारको तुलनामा भने ६.३ प्रतिशतले बढेर १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ।
असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको हो। यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा मंसिर मसान्तमा ३ प्रतिशतले बढेर नौ अर्ब ८२ करोड कायम भएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा मंसिर मसान्तमा ७.८ प्रतिशतले बढेर ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकामा मंसिर मसान्तमा ३.८ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ।
यसैगरी, आर्थिक वर्ष २०७९/०८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०७९ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७२.६ प्रतिशत र २३.० प्रतिशत रहेको छ। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।